रसुवाको बाढीप्रति गगन थापाको चासो, उद्धारमा राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्याशित रूपमा आएको ठूलो बाढीका कारण अवस्था गम्भीर र चिन्ताजनक बनेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत थापाले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारलाई आग्रह गरेका छन्। उनले सबै तहका सरकारसँग समन्वय गरी तत्काल उद्धार तथा राहतमा केन्द्रित हुनुपर्ने बताएका छन्।
विपद् व्यवस्थापनका लागि सरकारको प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने थापाले बताएका छन्।
उनले भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।
थापाले नेपाली कांग्रेसका सम्पूर्ण समिति, विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका नेतृत्व तथा सदस्यहरूलाई तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा सार्न तथा उद्धार र राहत कार्यमा तत्काल जुट्न अपिल गरेका छन्।