चक्रवातको प्रभाव नेपालमा पर्ने, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
बङ्गालको खाडीमा विकसित चक्रवात थप शक्तिशाली बन्दै गएपछि नेपालमा पनि यसको प्रभाव पर्ने सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार चक्रवात हिजो भारतको भूभागमा प्रवेश गरेको थियो। यसको प्रभाव कात्तिक १२ गते बिहीबार रातिदेखि नेपालमा सुरु हुने सम्भावना रहेको छ।
चक्रवातको प्रभावका कारण कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ।
वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिमसमेत रहेको छ। यसले जनजीवन, सडक यातायात तथा हवाई सेवामा असर पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ।
सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न प्राधिकरणले मौसमको अवस्थाबारे नियमित जानकारी लिन, अनावश्यक यात्रा नगर्न र जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। भारी वर्षा, हावाहुरी तथा हिमपातको सम्भावना रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पूर्वतयारी अवस्थामा रहनसमेत अनुरोध गरिएको छ।