रसुवाका बाढीपीडितलाई अमेरिकाले ५ लाख डलर सहयोग गर्ने
काठमाडौं — रसुवामा आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति अमेरिकाले दुःख व्यक्त गर्दै प्रभावित समुदायका लागि ५ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले बाढीमा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्को यस घडीमा अमेरिका नेपालको साथमा रहेको जनाएको छ।
अमेरिकाले क्याथोलिक रिलिफ सर्भिसमार्फत आपत्कालीन आश्रय, राहत सामग्री, खानेपानी तथा सरसफाइका लागि उक्त रकम उपलब्ध गराउने जनाएको छ। साथै, राहत तथा पुनर्स्थापनाका प्रयासमा सहयोग गर्न एक विपद् प्रतिकार्य सल्लाहकारलाई प्रभावित क्षेत्रमा खटाउने भएको छ।
अमेरिकाले प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकलाई स्थानीय अधिकारीको निर्देशन पालना गर्न तथा आपत्कालीन सूचना प्राप्त गर्न स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम (STEP) मा दर्ता हुन आग्रह गरेको छ।