गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ
बारा । गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका किशोरको बयानको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन्।
बारा प्रहरीका एसपी नरेन्द्र कुँवरका अनुसार पक्राउ परेका प्रहरीलाई हिरासतमा राखेर फौजदारी कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार किशोरको बयान भइरहेको समयमा भिडियो खिच्ने समूहमा पाँच जना प्रहरी देखिएका थिए। पक्राउ परेका प्रहरीबाहेक अन्यको भूमिकाबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
किशोरको बयानको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीको अनुसन्धान प्रक्रिया र गोपनीयतामाथि प्रश्न उठेको थियो। भिडियो कसरी बाहिरियो र कसले सामाजिक सञ्जालमा सार्वजनिक गर्यो भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।
संवेदनशील आपराधिक घटनाको अनुसन्धानका क्रममा लिइएको बयानको भिडियो सार्वजनिक भएपछि अनुसन्धानको गोपनीयता र प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेको छ। बालबालिका संलग्न घटनामा अभियुक्तको पहिचान तथा गोपनीयता संरक्षणको विषयसमेत संवेदनशील मानिन्छ।
प्रहरीले भिडियो खिच्ने तथा सार्वजनिक गर्ने कार्यमा अन्य व्यक्तिको संलग्नता भए–नभएकोबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।