सल्यानको आवाज संसददेखि टेलिकमसम्म, समस्या बोकेर निकाय धाइरहेका सांसद रमेश कुमार मल्ल
सल्यान । सल्यानका नागरिकका समस्या संसदमा उठाउनेदेखि समाधानका लागि सम्बन्धित सरकारी निकायको ढोका ढकढक्याउनेसम्म सल्यानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लको सक्रियता निरन्तर देखिन थालेको छ। जिल्लाको विकास निर्माण, सञ्चार, स्वास्थ्य, पूर्वाधार तथा जनसरोकारका विषय संसदमा उठाउँदै आएका मल्ल पछिल्लो समय सल्यानको दूरसञ्चार सेवा सुधारका लागि नेपाल टेलिकमको केन्द्रीय कार्यालयसम्म पुगेका छन्।
सांसद रमेश कुमार मल्लका स्वकीय सचिव टोपेन्द्र ओलीका अनुसार, मल्लको नेतृत्वमा आज नेपाल टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीमा प्रबन्ध निर्देशकसहित उच्च अधिकारीहरूसँग सल्यानको दूरसञ्चार सेवाको अवस्था र सुधारका विषयमा छलफल भएको हो। छलफलमा जिल्लाका १८ वटा सोलारबाट सञ्चालित टावरमा विद्युत् आपूर्ति जोड्ने, ब्याट्रीको समस्याका कारण घटेको सेवा समयलाई नियमित बनाउने तथा निर्माणाधीन ५ वटा टावर शीघ्र सम्पन्न गर्ने विषयमा टेलिकमको ध्यानाकर्षण गराइएको छ।
त्यसैगरी योजनामा समावेश भएका ८ वटा टावरको काम अघि बढाउने प्रतिबद्धता नेपाल टेलिकमबाट प्राप्त भएको जनाइएको छ। नेटवर्कको पहुँच नपुगेका कालिमाटी गाउँपालिका–७, घुइयाबारीभन्दा तल स्वामिवासलगायतका बस्ती तथा बागचौर नगरपालिका–४, सिमाखोलीलगायतका क्षेत्रमा थप एक-एक टावर निर्माणका लागि समेत विशेष ध्यानाकर्षण गराइएको छ।नेपाल टेलिकमले देशभर निर्माण गर्न लागेको १ हजार ४ सय नयाँ टावरको टेन्डर प्रक्रियामा सल्यानका आवश्यक १५ वटा टावरलाई प्राथमिकताका साथ समावेश गर्ने प्रतिबद्धता जनाएको छ। यी काम कार्यान्वयनमा आए सल्यानका ग्रामीण तथा नेटवर्क कमजोर रहेका क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तरमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ।
मल्लको पछिल्लो पहललाई भने एउटा टेलिकम बैठकमा मात्रै सीमित विषयका रूपमा हेर्न सकिँदैन। जिल्लाका समस्या संसदमा उठाउने र संसदबाहिर सम्बन्धित निकायसम्म पुगेर समाधानका लागि पहल गर्ने शैलीलाई उनको सार्वजनिक भूमिकाको निरन्तरताका रूपमा लिन सकिन्छ। सल्यानका साना-ठूला जनसरोकारका विषय संसदमा उठाउने र त्यसपछि समाधानका लागि सम्बन्धित मन्त्रालय तथा निकायसम्म पुग्ने उनको सक्रियता पछिल्लो समय जिल्लामा चर्चाको विषय बन्दै आएको छ।
सांसद मल्लले संसदमा सल्यानका सडक, सञ्चार, स्वास्थ्य, पूर्वाधार तथा अन्य जनसरोकारका विषय निरन्तर उठाउँदै आएका छन्। संसदको बैठक र राजनीतिक जिम्मेवारीबीच पनि जिल्लाका समस्या बोकेर सम्बन्धित निकायमा पुग्ने तथा जिल्लामै फर्किएर जनतासँग प्रत्यक्ष भेटघाट गर्ने उनको कार्यशैलीलाई स्थानीय तहमा समेत चासोका साथ हेरिएको छ।
संसदमा प्रश्न उठाउनु एउटा पक्ष हो, तर उठाइएको प्रश्नको समाधान खोज्न सम्बन्धित कार्यालयसम्म पुग्नु अर्को महत्वपूर्ण पक्ष हो। मल्लको पछिल्लो गतिविधिमा यी दुवै पक्ष देखिन्छन्। सल्यानको दूरसञ्चार समस्या संसदमा मात्र उठाउने नभई टेलिकमका उच्च अधिकारीसँग प्रत्यक्ष छलफल गरेर टावर, विद्युत् र ब्याट्रीको समस्या समाधानका लागि प्रतिबद्धता लिन खोज्नु त्यसैको एउटा उदाहरण हो।
सल्यानका कतिपय नागरिक तथा राजनीतिक वृत्तमा मल्लको सक्रियतालाई सकारात्मक रूपमा लिइएको छ। आफ्नो पार्टीको राजनीतिक हैसियत वा संसदमा रहेको संख्याभन्दा पनि निर्वाचित प्रतिनिधिका रूपमा जिल्लाका मुद्दा उठाउने र समाधानका लागि निरन्तर दौडधुप गर्ने क्षमता महत्वपूर्ण हुने उनीहरूको धारणा छ। विपक्षी राजनीतिक धारका केही व्यक्तिहरूले समेत जिल्लाका सवालमा उनको सक्रियतालाई सकारात्मक रूपमा मूल्यांकन गर्ने गरेको बताइन्छ।
मल्लको राजनीतिक सक्रियताको अर्को पाटो उनको जिल्लासँगको निरन्तर सम्पर्क हो। संसदको बैठक सकिएपछि जिल्लामा फर्किएर जनताको घरदैलोमा पुग्ने, स्थानीय समस्या सुन्ने र सम्बन्धित निकायसम्म पुर्याउने प्रयासलाई उनका समर्थकहरूले उनको कार्यशैलीको महत्वपूर्ण पक्षका रूपमा लिने गरेका छन्।यद्यपि, सरकारी निकायबाट प्राप्त प्रतिबद्धता व्यवहारमा कति छिटो कार्यान्वयन हुन्छ भन्ने प्रश्न अझै बाँकी छ। १८ वटा टावरमा विद्युत् आपूर्ति, ५ निर्माणाधीन टावरको शीघ्र सम्पन्नता, ८ योजनाको काम अघि बढाउने तथा नयाँ १५ टावरलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता कार्यान्वयन गराउन अब निरन्तर समन्वय र खबरदारी आवश्यक हुनेछ।
सल्यानको दूरसञ्चार समस्या समाधानका लागि आजको छलफल त्यसै दिशामा अघि बढेको अर्को प्रयास हो। संसदमा सल्यानको आवाज उठाउने र समस्या समाधानका लागि काठमाडौंका सरकारी निकायसम्म पुगेर दबाब सिर्जना गर्ने सांसदको भूमिकाले प्रतिबद्धता कार्यान्वयनमा समेत निरन्तरता पाउन सके त्यसको प्रत्यक्ष लाभ जिल्लाका नागरिकले पाउनेछन्।