कार्यनीतिमा अल्झिँदा पार्टी असफल भयो : प्रचण्ड
काठमाडौं — नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो वर्ग, मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा पार्टी असफल भएको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पछिल्लो समय पार्टी रणनीति बिर्सेर सत्ता बनाउने र ढलाउने खेलमा केन्द्रित हुनु गम्भीर गल्ती भएको बताए।
‘हामी बढी कार्यनीतिमा अल्झियौँ, सत्ता समीकरण बनाउने र भत्काउने नै कामको केन्द्रबिन्दु बन्न पुग्यो,’ प्रचण्डले भने, ‘हिजो जनयुद्धमा हुँदा सामन्तवादलाई परास्त गर्ने रणनीति थियो।’
जनयुद्धका क्रममा रणनीतिक लक्ष्य हासिल गर्न कार्यनीति बनाएर अघि बढ्दा सफलता प्राप्त भएको उल्लेख गर्दै उनले अहिले भने रणनीतिलाई कार्यनीति र कार्यनीतिलाई रणनीतिजस्तो बनाउँदा पार्टी चक्करमा फसेको स्वीकार गरे।
प्रचण्डले पार्टीको जनतासँगको सम्बन्ध कमजोर हुँदै जानु मुख्य त्रुटि भएको बताए।
‘किताबमा लेखे पनि र भाषणमा बोले पनि हाम्रो जनतासँगको सम्बन्ध कमजोर हुँदै गयो, यही हाम्रो मुख्य त्रुटि भयो,’ उनले भने।
उनले आफूहरू कार्यनीतिमा अल्झिँदा विरोधी शक्तिहरू भने रणनीतिक लक्ष्यमा केन्द्रित भएको दाबी गरे। उनका अनुसार विरोधीहरूले नेपालबाट कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने रणनीतिअनुसार काम गरिरहेका छन्।
प्रचण्डले पार्टीले आफ्नो वर्गीय आधार, मूल विचार र दीर्घकालीन रणनीतिलाई पुनः केन्द्रमा राखेर अघि बढ्नुपर्ने संकेतसमेत गरेका छन्।