‘विप्लव समूह’ अझै काठमाडौँ उपत्यकाको सुरक्षा चुनौती
नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा भएको दुई वर्षभन्दा धेरै भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले २०७७ फागुन २० मा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो ।
सरकारले प्रतिबन्ध फुकुवा गरे पनि सुरक्षा निकायले चाहिँ ‘विप्लव समूह’लाई अझै पनि सुरक्षा चुनौतीको रूपमा हेरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको चुनौती सूचीमा छ–‘विप्लव समूह ।’ सरकारका कामकारबाही र व्यवस्थाप्रति असन्तुष्टि जनाएर विरोध प्रदर्शन गर्ने गरेको हुनाले विप्लव नेतृत्वको नेकपा काठमाडौँ उपत्यकाको ‘सुरक्षा चुनौती’ रहेको प्रहरीको निष्कर्ष छ ।
विप्लव नेतृत्वको नेकपालाई राजधानीको सुरक्षा चुनौतीको सूचीमा राख्नुको कारणबारे जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजाल भन्छन्–‘चन्दा लगायतका कुरा आउँछ, त्यसैले हो ।’
२०७७ फागुन २१ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्दै ‘शान्तिपूर्ण राजनीति’ लाई स्वीकारेका थिए । वर्तमान सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहितको समाजवादी मोर्चामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा पनि आबद्ध छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले थालेको प्रदर्शन पनि काठमाडौँ उपत्यकाको सुरक्षा चुनौती रहेको प्रहरीको निष्कर्ष छ । आर्थिक वर्ष २०७९/०८० मा गरेको कार्यप्रगतिबारे जानकारी दिँदै जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले प्रसाईं लगायतका असन्तुष्ट पक्षहरूले गर्ने विरोध प्रदर्शनलाई ‘सुरक्षा चुनाैती’को रूपमा व्याख्या गरे ।
‘वित्तीय क्षेत्रमा वृद्धि भएको व्याज मिनाहा गर्नुपर्ने माग सहित (दुर्गा प्रसाईं) लगायत असन्तुष्ट पक्षहरूले गर्ने विरोध प्रदर्शन सुरक्षा चुनौतीको रूपमा देखिएको छ’–काठमाडौँ प्रहरीले भनेको छ ।
मन्द आर्थिक कारोबारका कारण बैंकिङ कसुर सम्बन्धी जाहेरी पनि दैनिक बढ्दो अवस्थामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।