प्रधानमन्त्री ओलीको कदमले दक्षिणपन्थीहरू खुसी भएका छन् : पाण्डे
पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले दक्षिणपन्थीहरु खुसी भएको बताएका छन् ।
माइतीघर मण्डलामा जारी नेकपा दाहाल–नेपाल पक्षको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पाण्डे ओलीले धर्मको आधारमा आफ्नो राजनीतिलाई अघि बढाएको बताएका हुन् । विघटित प्रतिनिधिसभाका सदस्य पाण्डेले ओलीका पछिल्ला कदमले उनी अब कम्युनिस्ट नेता नरहेको पुष्टि भएको पनि बताएका छन् ।
त्यस्तै ओलीको कदमले दक्षिणपन्थीहरु सल्बलाइरहेको उल्लेख गर्दै राजावादीहरुले अहिले उनलाई राजनेता भन्न थालेको पनि पाण्डेले बताए । पञ्चायत कालमा कम्युनिस्ट नेताहरुमाथि गोली हान्न निर्देशन दिनेहरुले नै ‘अहिले नेपालमा ओलीजस्तो राजनेता कोही छैनन्’ भन्न थालेको पनि उनले बताए ।
उनले प्रधानमन्त्री ओलीले समाजवादको यात्रामा घात गरेको पनि आरोप लगाए । ‘प्रधानमन्त्री ओलीले समाजवादतर्फको यात्रामा घात गरे । नागरिकले अब त समाजवाद आउला, अब त सुख होला भनेर सोचेका थिए तर ओलीले त्यसलाई घात गरे,’ पाण्डेले भने । त्यस्तै सत्यको पक्षमा उभिने वकिल, न्यायालयलगायलाई पनि ओलीले ‘झम्टिने’ गरेको उनले आरोप लगाए । ‘जो–जो व्यक्तिहरु सत्यको पक्षमा उभिन्छन्, तिनलाई ओलीले झम्टिन्छन्,’ उनले भने ।
प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलमा माघ १४ गतेदेखि जारी धर्नामा आइतबार नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल पनि सहभागी भएका थिए । त्यस्तै धर्नामा विघटित प्रतिनिधिसभाका सदस्य, राष्ट्रिय सभा, प्रदेशसभाका सदस्यलगायतका नेता कार्यकर्ता उपस्थित थिए ।
यसअघि माघ २१ गतेसम्म धर्ना कार्यक्रम जारी रहने बताइए पनि सोमबारदेखि वाग्मती प्रदेशसभाको बैठक सुरु हुने भएकाले आइतबार नै धर्ना कार्यक्रमको समापन गरिएको दाहाल–नेपाल पक्षकी स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।