कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई दियो १८१ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको हो ।
कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २१ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । यस्तै, हुसैन तलतले ४०, पवन सर्राफले अविजित ३०, गुलशन झाले २० र मार्क वाटले १७ रन जोडे ।
बलिङतर्फ काठमाडौंका करण केसीले दुई विकेट लिए भने शाह आलम, देव शाह, सन्तोष यादव र जहानदाद खानले एक–एक विकेट हात पारे ।
दुई खेलमा दुई जित निकालेको कर्णाली अंकतालिकाको शीर्ष स्थानमा छ । एक खेल खेलेको काठमाडौं भने अंकविहीन रहँदै तालिकाको पुछारमा छ ।