एनपीएलमा जनकपुरको सहज जित, काठमाडौं ८ विकेटले पराजित
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई आठ विकेटले पराजित गर्दै जारी सिजनमा पहिलो जित निकालेको छ।
काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो। पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको छ।
जनकपुरको जितमा मोइन अलीले अर्धशतकीय पारी खेले। उनले ५१ बलमा ५८ रन बनाउँदै अविजित रहे। त्यस्तै, सैफ हसनले ४० रन बनाएर उनलाई साथ दिए। दुवै ब्याटरले टोलीलाई जितसम्म पुर्याए। काठमाडौंका बलर रिपोन मोन्डलले एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज १९.३ ओभरमा ११५ रन बनाउँदै अलआउट भएको थियो। काठमाडौंले दिएको सामान्य लक्ष्य जनकपुरले सहजै पूरा गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो। nयस जितसँगै जनकपुरले प्रतियोगितामा आफ्नो खाता खोलेको छ भने काठमाडौंले पहिलो खेलमै हार बेहोरेको छ।