भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु, ५ घाइते
भारतको राजस्थानस्थित झुन्झुनू जिल्लामा सडक निर्माणका क्रममा करेन्ट लागेर आठ जना मजदुरको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् । सोमबार उदयपुरवाटी तहसीलअन्तर्गत छापोली गाउँमा उक्त दुर्घटना भएको हो ।
उदयपुरवाटीका थाना प्रभारी रामपालका अनुसार सडक निर्माणमा प्रयोग भइरहेको गिट्टी–बालुवा मिसाउने मिक्सर मेसिन अचानक माथिबाट गएको हाईटेन्सन विद्युत् लाइनमा छोइएको थियो । त्यसपछि मेसिनमा करेन्ट प्रवाह हुँदा नजिकै काम गरिरहेका मजदुरहरू त्यसको चपेटामा परेका थिए ।
करेन्ट लागेर आठ जनाको घटनास्थलमै मृत्यु भएको र पाँच जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घटनापछि आक्रोशित स्थानीय बासिन्दाले घटनास्थलमै विरोध प्रदर्शन गरेका छन् । स्थिति नियन्त्रणमा लिन तथा घटनाको अनुगमन गर्न स्थानीय विधायक भगवानाराम सैनी र प्रहरी टोली घटनास्थल पुगेका छन् ।