परराष्ट्रमन्त्री खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि बेलायती राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।
भेटका क्रममा जलवायु परिवर्तन, जलवायु वित्त, उत्थानशील आर्थिक विकास तथा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहकार्य गर्ने विषयमा कुराकानी भएको थियो ।
यसैगरी, दुई देशबीच आपसी हितका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने तथा गोर्खा सैनिकको पेन्सनसम्बन्धी विषयमा समेत छलफल भएको सचिवालयले जनाएको छ ।