भेनेजुएलाको सैन्य आक्रमणमा १९ जनाको मृत्यु
काठमाडौं । भेनेजुएलाको सेनाले पश्चिमी अपुरे राज्यमा रहेको कोलम्बियाली विद्रोही समूह नेसनल लिबरेसन आर्मी (इएलएन) को शिविरमा गरेको आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान ड्रोन र आक्रमणकारी हेलिकप्टर प्रयोग गरी गरिएको हमलामा मारिने अधिकांश भेनेजुएलाका नागरिक रहेको सैन्य स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।
सीमावर्ती क्षेत्रमा मानव अधिकार उल्लङ्घनको निगरानी गर्ने गैरसरकारी संस्था फन्डारेड्सका संयोजक जुआन फ्रान्सिस्को गार्सियाका अनुसार आक्रमणमा सुरुमा नौ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट थप १० जनाको शव सान फर्नान्डो लगिएको थियो ।
नाम सार्वजनिक नगर्ने सर्तमा एक सैन्य स्रोतले आक्रमणमा अमेरिकी गुप्तचर निकाय सीआईए र एफबीआईको सहयोग रहेको तथा अमेरिकी आदेशमा कारबाही गरिएको दाबी गरेको छ । यद्यपि, यस विषयमा अमेरिकी विदेश मन्त्रालय र भेनेजुएला सरकारले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।
भेनेजुएला र कोलम्बियाबीचको दुई हजार २०० किलोमिटर लामो सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करी, अवैध खनन तथा अन्य तस्करीमा संलग्न सशस्त्र समूह सक्रिय छन् । सन् २०१६ मा फार्क विद्रोही समूहले कोलम्बिया सरकारसँग शान्ति सम्झौता गरेपछि इएलएन ल्याटिन अमेरिकाको सबैभन्दा शक्तिशाली विद्रोही समूहका रूपमा स्थापित भएको छ ।
मानव अधिकार अधिवक्ता तथा सैन्य मामिलाकी विशेषज्ञ रोसियो सान मिगुएलले पछिल्लो आक्रमणले भेनेजुएलाको सैन्य नीतिमा परिवर्तन आएको सङ्केत गरेको बताएकी छन् । सैन्य स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा विद्रोहीका थप शिविर रहेको आशङ्कामा खोजी अभियान जारी राखिनेछ ।
गत जनवरीमा अमेरिकाले निकोलस मदुरोलाई सत्ताच्युत गरेपछि भेनेजुएलाको नीतिमा आएको परिवर्तनसँग पनि पछिल्लो सैन्य कारबाही जोडिएको हुन सक्ने बताइएको छ । मदुरोकी पूर्वसहयोगी डेल्सी रोड्रिगेजको नेतृत्वमा रहेको सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन पाएको छ ।
यता, कोलम्बियाका नवनिर्वाचित कट्टर दक्षिणपन्थी राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले इएलएन र लागूऔषध तस्करीमा संलग्न समूहविरुद्ध कडा कारबाही अघि बढाइरहेका छन् । कोलम्बिया लागूऔषध तस्करी तथा सङ्गठित अपराध नियन्त्रणका लागि अमेरिकी नेतृत्वमा सञ्चालित क्षेत्रीय अभियानमा एक दर्जनभन्दा बढी ल्याटिन अमेरिकी तथा क्यारिबियन राष्ट्रसँग सहभागी छ ।
पछिल्लो घटनाले भेनेजुएला र कोलम्बियाबीचको सीमावर्ती सुरक्षा तथा क्षेत्रीय राजनीतिक परिस्थितिमा थप तनाव उत्पन्न हुन सक्ने देखिएको छ ।