एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
जारी नेपाल प्रिमियर लिग (एनपीएल) का खेलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको बिहार राज्यअन्तर्गत भोजपुरका ३२ वर्षीय सोनु कुमार सिन्हालाई ठमेलबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी एनपीएलका खेलमा अनलाइनमार्फत सट्टेबाजी भइरहेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।
सिन्हाको साथबाट बरामद दुई थान मोबाइल फोन जाँच गर्दा विभिन्न चारवटा अनलाइन बेटिङ साइटमा लगइन गरी ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत जुवा खेल्ने वा सट्टेबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पक्राउबारे जानकारी दिएको हो।