नेपाल दलित सङ्घको अध्यक्षमा यमुना विश्वकर्मा मनोनीत
नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले नेपाल दलित सङ्घको अध्यक्षमा यमुना विश्वकर्मालाई मनोनीत गरेको छ।
पार्टीको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशाङ्क कोइरालाले तनहुँकी विश्वकर्मालाई सङ्घको अध्यक्षमा मनोनीत गरेका हुन्।
संयोजक कोइरालाद्वारा हस्ताक्षरित मनोनयन पत्रमा पार्टी केन्द्रीय समितिको निर्णयअनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम उनलाई अध्यक्ष पदमा मनोनयन गरिएको उल्लेख छ।
नवनियुक्त अध्यक्ष विश्वकर्मालाई आगामी ६ महिनाभित्र नेपाल दलित सङ्घको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसमेत दिइएको छ।
मनोनयन पत्रमा कांग्रेसका स्थापित मूल्यमान्यता आत्मसात् गर्दै सङ्घको महाधिवेशन सम्पन्न गरी सङ्गठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। विश्वकर्माले अब ६ महिनाभित्र सङ्घको महाधिवेशन सम्पन्न गर्ने कार्यादेशअनुसार संगठनात्मक गतिविधि अघि बढाउनुपर्नेछ।