पर्सामा ७ लाख रुपैयाँ बराबरका अवैध पटाका तथा विस्फोटक पदार्थ नष्ट
पर्सा प्रहरीले अवैध रूपमा भित्र्याइएका करिब ७ लाख रुपैयाँ बराबरका पटाका, आतिशबाजी तथा अन्य विस्फोटक पदार्थ नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी टोलीले विभिन्न मिति र समयमा जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा उक्त पटाका तथा विस्फोटक पदार्थ नियन्त्रणमा लिएको थियो।
प्रहरी प्रवक्ता चक्रबहादुर मल्लका अनुसार बरामद गरिएका सामग्रीको अनुमानित मूल्य करिब ७ लाख रुपैयाँ रहेको छ।
प्रहरीले आज सञ्चारकर्मीको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय परिसरमै खाल्डो खनेर पानीसहित पुरेर ती सामग्री नष्ट गरेको जनाएको छ।
प्रहरीका अनुसार चाडपर्वको समयमा अवैध रूपमा पटाका तथा विस्फोटक पदार्थ भित्र्याउने, बिक्री वितरण गर्ने र प्रयोग गर्ने गतिविधि नियन्त्रण गर्न जिल्लाभर चेकजाँचलाई तीव्र पारिएको छ।
अवैध विस्फोटक पदार्थको कारोबार तथा प्रयोगले जनधनको क्षति हुन सक्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रणका लागि निगरानी बढाइएको प्रहरीले जनाएको छ।