जलविरे झरना घुमेर फर्किने क्रममा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु
चितवनको पर्यटकीय स्थल जलविरे (लामो झरना) घुमेर फर्किने क्रममा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ।
इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे झरनाबाट फर्किने क्रममा डब्लुबी ०२ एपी ३४५८ नम्बरको भारतीय कार अनियन्त्रित भई खोलामा खसेको थियो। दुर्घटनामा कार चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार मृतकको साथबाट फेला परेको राहदानीका आधारमा उनको पहिचान भारतको पश्चिम बंगालस्थित कालिम्पोङ निवासी ४१ वर्षीय सायन्तन गायेनका रूपमा खुलेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाका बेला कारमा चालक मात्रै सवार थिए। दुर्घटना के कारणले भएको हो भन्नेबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।