बाघको आक्रमणबाट चितवनमा ४६ वर्षीय पुरुषको मृत्यु
चितवनको भरतपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनको बेथरी खोलानजिक बाघको आक्रमणबाट स्थानीय ४६ वर्षीय भीम महतोको मृत्यु भएको हो।
मंगलबार दिउँसो करिब २ बजे निउरो टिप्न गएका चार जनामध्ये महतोलाई बाघले आक्रमण गरी लगेको थियो। घटनाबारे उनीसँगै गएका साथीहरूले सोही दिन साँझ ५:४५ बजे इलाका प्रहरी कार्यालय दिव्यनगर, चितवनमा जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीयवासी तथा वन कर्मचारीको समन्वयमा खोजी कार्य सुरु गरिएको थियो। खोजतलासका क्रममा आज बिहान १०:५५ बजे चितवन राष्ट्रिय निकुञ्जभित्र महतोको शव फेला परेको हो।
शव फेला परेको स्थाननजिकै रहेको बाघलाई डार्ट हानेर नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।