नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पदोन्नति लिएको आरोपमा हिराबाबु भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पदोन्नति तथा सरकारी सेवा–सुविधा लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट प्रवीणता प्रमाणपत्र तह (आईए) उत्तीर्ण गरेको भन्दै २०५५ वैशाख ८ गते विभागमा शैक्षिक प्रमाणपत्र पेस गरेका थिए। तर, सम्बन्धित निकायबाट प्रमाणपत्र प्रमाणीकरण गराउँदा उनको नाम र कुल प्राप्ताङ्क त्यहाँको आधिकारिक अभिलेखसँग मेल नखाएको पाइएको आयोगले जनाएको छ।
उक्त प्रमाणपत्रकै आधारमा भट्टराईले विभिन्न पदमा बढुवा पाउँदै आएका थिए। उनले २०५६ जेठ १० गते सहायक निरीक्षक, २०६४ असार ३२ गते वरिष्ठ अनुसन्धान सहायक, २०७१ माघ ५ गते अनुसन्धान अधिकृत र २०७५ फागुन १३ गते प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा पाएको अख्तियारले जनाएको छ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी ओहदा तथा सेवा–सुविधा लिएको पुष्टि भएको भन्दै आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा अघि बढाएको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भट्टराईविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ (२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम सजायको मागदाबीसहित बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।