बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते
बझाङको केदारस्युँ गाउँपालिका–७ भानचौरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। आज बिहान ९ः१० बजे भानचौरबाट काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३७६ नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरकी अन्दाजी २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, २२ वर्षीया रेखा धामी तथा दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र ४२ वर्षीय रामकुमार धामी घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ। प्रहरीका अनुसार दुर्घटनापछि जिपमा सवार यात्रुहरूको थप विवरण संकलन गर्ने काम भइरहेको छ। घटनाबारे थप अनुसन्धानसमेत भइरहेको प्रहरीले जनाएको छ।