पूर्वसूचनालाई प्रभावकारी पूर्वतयारीसँग जोड्न रेडक्रस महासचिव चापागाईंको आग्रह
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव जगन चापागाईंले प्राकृतिक विपद्बाट नागरिकको ज्यान र जीविकोपार्जन जोगाउन पूर्वसूचना प्रणालीलाई प्रभावकारी पूर्वतयारीसँग जोड्न आग्रह गरेका छन्।
टर्कीको अन्ताल्यामा जारी कोप–३१ अन्तर्गत ‘सबैका लागि पूर्वसूचना’ विषयक सत्रलाई सम्बोधन गर्दै उनले पूर्वसूचना पाएपछि सुरक्षित कदम चाल्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन्।
उनका अनुसार सन् २०२५ मा पूर्वसूचनामा आधारित पूर्वतयारीले ५४ देशका ९६ लाख नागरिकलाई विपद्को असर पर्नुअघि नै आफ्नो ज्यान र जीविकोपार्जन जोगाउन सहयोग गरेको थियो।
उनले सन् २०२२ मा अभियान सुरु भएयता पूर्वतयारीका लागि नीतिगत संरचना बनाउने देशको सङ्ख्या ३५ बाट बढेर ७५ पुगेको जानकारी दिए।
पूर्वसूचना पाए पनि आवश्यक सुरक्षित कदम चाल्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै उनले विपद्पछिको उद्धार र राहतमा मात्र निर्भर नभई विपद्अघि नै तयारी गर्नुपर्ने बताए।
चापागाईंले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन राजनीतिक प्रतिबद्धता, पर्याप्त लगानी र स्थानीय समुदायको सहभागिता आवश्यक रहेको पनि औँल्याए।