सप्तरीमा जंगली हात्तीको आक्रमणबाट ६५ वर्षीय वृद्धको मृत्यु
सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। हराएको बाख्रा खोज्न जंगलछेउ पुगेका स्थानीय ६५ वर्षीय गोपी चौधरीको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो।
स्थानीयका अनुसार बाख्रा हराएपछि चौधरीसहित चार–पाँच जना गाउँको पूर्व–उत्तर दिशामा रहेको जंगलनजिकैको गोठतर्फ खोजी गर्न गएका थिए। सोही क्रममा उनीहरूले नजिकै जंगली हात्ती देखेका थिए।
प्रत्यक्षदर्शीका अनुसार हात्तीको आवाज सुनेपछि चौधरी ठूलो स्वरमा कराएका थिए। त्यसपछि आक्रोशित बनेको हात्तीले उनलाई लखेटेर आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भेडियाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाको आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुका साथै थप अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनापछि सुरुङ्गा–४ लगायत आसपासका बस्तीमा त्रास फैलिएको छ। पछिल्लो समय जंगल आसपासका क्षेत्रमा जंगली हात्तीको आवागमन बढ्दै जाँदा मानव–वन्यजन्तु द्वन्द्वको जोखिमसमेत बढेको छ।
स्थानीय बासिन्दाले जंगली हात्तीको जोखिम न्यूनीकरण गर्न वन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहसँग प्रभावकारी निगरानी, पूर्वसूचना प्रणाली तथा नागरिकको जीउधनको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न माग गरेका छन्।