कोप–३१ मा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
टर्किएमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्।
कोप–३१ मा अर्थमन्त्री वाग्लेले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए।
त्यसैगरी, सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’मा नेपाललाई १०५औँ नयाँ सदस्यका रूपमा सहभागी गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ सम्बन्धी नीतिगत अवधारणा छलफलका लागि प्रस्तुत गरेका थिए।
विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान सञ्चालन गर्दै आएकी बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली र जी–२० समूहको अध्यक्षता गर्न लागेको बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
कोप–३१ मा नेपालले उठाएका विषयमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले अर्थमन्त्री वाग्लेले पाँच जना प्रभावशाली जलवायु दूतसँग पनि छलफल गरेका थिए। उनले बेलायतकी रेचेल काइट, अस्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमैकाका डेल वेबर र राष्ट्रसङ्घीय महासचिवका दूत सेल्विन हार्टसँग भेटवार्ता गरेका थिए।
त्यसैगरी, हरित जलवायु कोषको उच्च नेतृत्वसँग भावी कार्यक्रमका विषयमा छलफल गरेका अर्थमन्त्रीले जेनेभास्थित विश्व मौसम विज्ञान सङ्गठनअन्तर्गत नेपालले समेत लाभ लिएको जलवायु मापन कोषसम्बन्धी कार्यक्रममा विशेष सम्बोधन गरेका थिए।
जलवायु र अर्थशास्त्रका क्षेत्रमा ख्यातिप्राप्त प्राध्यापक योहान रक्स्त्रम र प्राध्यापक निकलस स्टर्नसँग पनि अर्थमन्त्रीले भेटघाट गरेका थिए।
भ्रमणका क्रममा उनले द न्युयोर्क टाइम्स लाई अन्तर्वार्तासमेत दिएका थिए। साथै, सन् २०२६ का लागि टाइम पत्रिकाले छनोट गरेका जलवायु मुद्दाका १०० प्रभावशाली व्यक्तित्वहरूको सम्मानमा आयोजित कार्यक्रममा पनि अर्थमन्त्री सहभागी भएको उनको सचिवालयले जनाएको छ।