कर्णालीसँग २४ रनले पराजित भयो चितवन, तलात बने खेलका नायक
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत आइतबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा सबै विकेट गुमाएर १२९ रनमा समेटियो ।
चितवनका लागि उसामा मीरले सर्वाधिक २८ रन बनाए । २३ बलमा अविजित रहेका उनले २ चौका र १ छक्का प्रहार गरे । कामिल मिसाराले २५, कुशल मल्लले १८ र देव खनालले १४ रन जोडे ।
कर्णालीका लागि हुसैन तलातले सर्वाधिक ३ विकेट लिए । पवन सर्राफ र मार्क वाटले समान २ तथा सोमपाल कामीले १ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो ।
कर्णालीका लागि हुसैन तलातले अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३३ बलमा २ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, आरिफुल इस्लामले १५ बलमा ४ चौका र २ छक्काको मद्दतले ३५ रन बनाए ।
गुल्सन झाले ६ बलमा १८, पवन सर्राफले १५ र दीपक दुम्रेले ७ रन जोडे । कप्तान डेभिड मिलरले ५, सोमपाल कामीले ४ र मार्क वाटले ६ रन बनाए ।
चितवनका कमलसिंह ऐरी, सलाहुद्दिन खान र उसामा मीरले समान २ विकेट लिए । रिजन ढकाल र सिकन्दर रजाले १–१ विकेट हात पारे ।
यस जितसँगै कर्णालीले प्रतियोगिताबाट बाहिरिसकेको अवस्थामा सुखद नतिजा निकालेको छ । चितवन भने यसअघि नै प्लेअफमा प्रवेश गरिसकेको छ ।