उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न
शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको आस्था, श्रद्धा र भक्तिको महान् पर्व छठ आज सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सम्पन्न भएको छ।
छठ पर्वको अन्तिम दिन आज बिहानैदेखि व्रतालुहरू छठघाट, नदी, पोखरी तथा जलाशयमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन्। सूर्यदेव र छठी माताको पूजा आराधना गर्दै व्रतालुहरूले परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरेका छन्।
यसअघि आइतबार छठ पर्वको मुख्य दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको हो।
छठ पर्व काठमाडौंको गुह्येश्वरीलगायत विभिन्न स्थानमा विशेष उत्साहका साथ मनाइएको छ। त्यस्तै, तराई–मधेशका विभिन्न जिल्लामा पनि नदी, पोखरी तथा छठघाटहरूमा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सूर्यदेवको उपासना र प्रकृतिप्रतिको आस्था झल्काउने छठ पर्वमा व्रतालुहरूले कठोर व्रत, पूजा तथा आराधना गर्ने परम्परा रहिआएको छ। छठ पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।






