झापाको कन्काईमा ४३ वर्षीय पुरुष मृत फेला
झापाको कन्काई नगरपालिका–३ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। कन्काईमा फोटो स्टुडियो सञ्चालन गर्दै आएका ४३ वर्षीय योगेन्द्र खतिवडा मृत फेला परेका हुन्। उनी यशु खतिवडाका नामले समेत परिचित थिए।
झापाकी प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काका अनुसार खतिवडा आफ्नै घरको दोस्रो तलामा रहेको भेन्टिलेसनमा सलको पासोमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
घरको ढोका नखुलेपछि परिवारका सदस्य र छिमेकीले ढोका फुटाएर हेर्दा उनलाई मृत अवस्थामा फेला पारेका थिए। त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।
एसपी खड्काका अनुसार उनको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।