मधेस प्रदेश सरकार गठनबारे दलहरूबीच सघन छलफल भइरहेको छ : प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनका विषयमा विभिन्न राजनीतिक दलबीच सघन छलफल भइरहेको बताएका छन्।
राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन बर्दिबास पुगेका प्रचण्डले सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै सरकार गठनका विभिन्न विकल्प खुला राखेर छलफल भइरहेको बताएका हुन्।
उनले लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलहरूबीच सहकार्य र समन्वय गरेर मधेस प्रदेश सरकारलाई स्थायित्व दिने विषयमा छलफल भइरहेको र चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे।
प्रचण्डले आफ्नो पार्टीले सञ्चालन गरिरहेको राष्ट्रिय जागरण अभियान पार्टीको आन्तरिक संगठन सुदृढ बनाउनुका साथै लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूबीच आपसी सम्बन्ध प्रगाढ बनाउने उद्देश्यमा केन्द्रित रहेको बताए।
कार्यक्रममा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहित मधेस प्रदेशका केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला अध्यक्ष र संयोजकहरूको सहभागिता रहने जनाइएको छ।