भक्तपुरमा लागुऔषधसहित दुई जना पक्राउ
जिल्ला प्रहरी परिसर भक्तपुरले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार मध्यपुरथिमि नगरपालिका–२ स्थित दिव्यश्वरी प्लानिङ क्षेत्रमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपककुमार कार्कीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तुका वसन्तबहादुर खत्री र दोलखाका प्रदीप केसी रहेका छन् । खत्रीको साथबाट ४२ दशमलव ८४ ग्राम खैरो हेरोइन र ट्रामाडोल १० क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, केसीको साथबाट १ दशमलव २८ ग्राम खैरो हेरोइन बरामद गरिएको छ । पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।