गण्डकीका किसानको समस्या समाधान गर्ने गृहमन्त्री गुरुङको प्रतिबद्धता
गोरखाको गण्डकी गाउँपालिकाका किसानले भोग्दै आएको कृषि उपज बजारीकरणको समस्या समाधान गर्ने गृहमन्त्री सुधन गुरुङले प्रतिबद्धता जनाएका छन्।
मतदाता भेटघाटका क्रममा गाउँपालिका पुगेका गुरुङसमक्ष स्थानीयले सडक तथा पुलको अभावमा उत्पादित तरकारी बजारसम्म पुर्याउन नसक्दा बारीमै कुहिने गरेको गुनासो गरेका थिए।
स्थानीयले पुल नहुँदा कृषि उपज बिक्री गर्न कठिन भएको र उचित मूल्यसमेत पाउन नसकेको भन्दै ज्यामीरेघाटमा पक्की पुल निर्माणलाई प्राथमिकता दिन आग्रह गरेका थिए।
जवाफमा गृहमन्त्री गुरुङले ज्यामीरेघाटमा पक्की पुल निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पुल निर्माण भएपछि स्थानीयको आवागमन सहज हुनुका साथै कृषि उपज बजारसम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ।