पत्रकार धरपकडको छानबिन गर्न संसदीय विशेष समिति गठनको कांग्रेसको माग
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पत्रकार धरपकडलगायतका घटनाको निष्पक्ष छानबिन गर्न संसदीय विशेष समिति गठनको माग गरेको छ ।
सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको संसदीय दलको बैठकले सरकार स्वेच्छाचारी बन्दै गएको र विधिको शासन तथा प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको निष्कर्ष निकाल्दै छानबिन समिति गठनको माग गर्ने निर्णय गरेको हो ।
बैठकपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले निर्वाचनबाट प्राप्त जनमत संविधान र कानुनभन्दा माथि हुन नसक्ने बताएका छन् ।
उनले पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको बताए ।
कांग्रेसले पक्राउको स्पष्ट कानुनी आधार, पक्राउ पुर्जी वा अदालतको अनुमतिविना समाचार कक्षमै प्रहरी परिचालन गरी पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ ।
‘पक्राउको स्पष्ट कानुनी आधार र अदालतको अनुमतिविना समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वतन्त्र पत्रकारितामाथि अनुचित दबाब मात्र होइन, विधिको शासनविपरीतको स्वेच्छाचारिता हो,’ आङदेम्बेले भने, ‘यसको जवाफ सरकारले संसद् र जनतालाई दिनुपर्छ।’
उनले सरकारले कानुनी प्रक्रिया पूरा नगरी ‘जे गरे पनि हुन्छ, जवाफ दिनु पर्दैन’ भन्ने प्रवृत्ति देखाएको आरोप लगाए । यस्ता गतिविधिले मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाएर आफूअनुकूल शासन लाद्ने खतरा रहेको कांग्रेसको ठहर छ ।
कांग्रेसले पत्रकार धरपकड तथा सरकारसँग जोडिएका अन्य विवादित गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न संसदीय विशेष समिति गठन गर्नुपर्ने माग गरेको छ । साथै, घटनामा दोषी देखिएकालाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन पनि माग गरेको छ ।
सरकारका सकारात्मक काम, जनसरोकारका विषय र सुशासनका प्रयासमा कांग्रेसको समर्थन रहने भए पनि विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकार अघि बढे कडा प्रतिरोध गर्ने आङदेम्बेले चेतावनी दिएका छन् ।