त्रिविका सबै शैक्षिक कार्यक्रममा सेमेस्टर प्रणाली लागू गर्ने तयारी
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक गुणस्तर सुधार र परीक्षा प्रणाली व्यवस्थित बनाउन सबै शैक्षिक कार्यक्रममा सेमेस्टर प्रणाली लागू गर्ने तयारी थालेको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिविका पदाधिकारीबीच शुक्रबार सिंहदरबारमा भएको छलफलमा सेमेस्टर प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम निर्माण तथा परिमार्जनको काम अघि बढाइएको जानकारी गराइएको हो ।
छलफलमा त्रिविको संस्थागत छवि बलियो बनाउने, अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन गर्ने, पठनपाठनको प्रभावकारिता बढाउने र शैक्षिक क्षमताका आधारमा विद्यार्थी कोटा निर्धारण गर्ने विषयमा जोड दिइएको थियो । त्यस्तै, नयाँ शैक्षिक कार्यक्रम सञ्चालन, सम्बन्धन वितरणलाई मापदण्डमा आधारित बनाउने र उच्च शिक्षामा लगानी बढाउने विषयमा पनि छलफल भएको थियो ।
शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले विश्वविद्यालयको पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजानुपर्ने, शैक्षिक सत्र व्यवस्थित गर्नुपर्ने र विद्युतीय हाजिरी प्रणाली लागू गर्नुपर्ने बताए । उनले सम्बन्धन वितरणमा संख्यात्मक विस्तारभन्दा गुणस्तरलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै सम्बन्धन प्राप्त क्याम्पसमा आवश्यक शैक्षिक पूर्वाधार, पुस्तकालय र प्रयोगशाला अनिवार्य हुनुपर्नेमा जोड दिए । त्रिविको अतिक्रमित जग्गा फिर्ता ल्याउने विषयलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
त्रिविका उपकुलपति प्राडा भोला थापाले विश्वविद्यालयलाई ‘उत्कृष्टताको केन्द्र’ का रूपमा विकास गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । उच्च शिक्षा सुधारका लागि मन्त्रालयसँग समन्वय गरी विस्तृत कार्ययोजनासहित अघि बढ्ने उनले उल्लेख गरे ।
मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले त्रिविको जग्गासम्बन्धी विषयमा थप खोजबिन गरी समग्र लगत तयार गर्नुपर्ने बताए । त्यसका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने उनको प्रतिबद्धता थियो ।
छलफलमा त्रिविका उपकुलपति प्राडा थापा, शिक्षाध्यक्ष प्राडा अञ्जना सिंह, रजिस्ट्रार सहप्राडा रवीन्द्र शिवाकोटी, विभिन्न संकायका डीन, शिक्षामन्त्रीका सल्लाहकार झा तथा मन्त्रालयका सहसचिव जयराम अधिकारी र भट्टराई सहभागी थिए ।