चिसापानीगढी दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका अवधेश यादव बिरामी, अस्पतालमा उपचार हुँदै
मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण सवारी दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका सर्लाहीका अवधेश यादव आफैँ बिरामी परेका छन् ।
अकल्पनीय दुर्घटनामा श्रीमती, तीन छोरी र दुई भाइ गुमाएपछि विक्षिप्त बनेका यादवको रक्तचाप घटेपछि स्वास्थ्यमा समस्या देखिएको हो । उनलाई हेटौँडा अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ ।
उक्त दुर्घटनामा यादवले ३५ वर्षीया गर्भवती श्रीमती पुनमदेवी यादव, १० वर्षीया छोरी अनुकुमारी यादव, ७ वर्षीया छोरी दीक्षा यादव र ५ वर्षीया छोरी दीपिका यादव गुमाएका छन् । त्यस्तै, उनका २६ वर्षीय सहोदर भाइ विकेश यादव र २४ वर्षीय भाइ सुबोध यादवको पनि दुर्घटनामा ज्यान गएको छ ।
दुर्घटनामा घाइते भएका यादवका डेढ वर्षीय छोरा सुदीपको भने काठमाडौंमा उपचार भइरहेको छ ।
यादवको परिवार छठ पर्व मनाउन सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलस्थित घर फर्कंदै थियो । सोही क्रममा चिसापानीगढीमा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
दुर्घटनाको पीडा झनै हृदयविदारक छ । गाडीमा सिट नपाएपछि अवधेश परिवारसँगै यात्रा नगरी रोकिएका थिए । आफू अर्को दिन आउने भन्दै उनले परिवारका सबै सदस्यलाई गाडीमा चढाएर डेरामा फर्किएका थिए ।
बिहान सबेरै दुर्घटनाको खबर पाएपछि हतारिँदै हेटौँडा आइपुगेका उनले परिवारका ६ सदस्यको मृत्यु भएको र डेढ वर्षीय छोरा मात्रै जीवित रहेको खबर पाए । त्यसयता उनी गहिरो मानसिक आघातमा परेका छन् । एकै दुर्घटनामा परिवारका अधिकांश सदस्य गुमाएका यादव अहिले आफैँ अस्पतालको शय्यामा उपचाररत छन् ।