सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त, को कहाँ कार्यरत थिए?
राष्ट्रपति रामचन्द्र पौडेलले चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त न्यायाधीशमा डा. रत्नबहादुर बाग्चन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् ।
नवनियुक्त न्यायाधीशमध्ये डा. बाग्चन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश थिए । त्यस्तै, सारु उच्च अदालत पाटन, पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलास र डाँगी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा न्यायाधीशका रूपमा कार्यरत थिए ।