दाङको सिँचाइ बाँधमा डुबेर बेपत्ता भएका २३ वर्षीय चौधरीको शव फेला
दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका २३ वर्षीय अनुप चौधरीको शव फेला परेको छ ।
स्थानीय बेलघार निवासी चौधरीको शव सशस्त्र प्रहरी बलको विशेष टोलीले आज बाँधबाट निकालेको हो ।
सशस्त्र प्रहरी उपरीक्षक यदुकुमार कार्कीका अनुसार शमशेरगञ्जस्थित सशस्त्र प्रहरी बलको प्रदेशस्तरीय विपद् व्यवस्थापन टोलीबाट प्रहरी निरीक्षक आशिष रावतको कमाण्डमा खटिएको विशेष टोलीले बाँधको करिब ३० फिट पानीमुनि माटोमा गाडिएको अवस्थामा शव फेला पारेको हो ।
चौधरी छ जना साथीसँगै बाँधमा नुहाउन गएका थिए । सोही क्रममा उनी डुबेर बेपत्ता भएका थिए । घटनाबारे जानकारी प्राप्त हुनासाथ खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको थियो । लामो खोजीपछि विशेष टोलीले चौधरीको शव फेला पारेको हो ।