न्युयोर्कमा तीनतले भवन भत्किँदा दुई जनाको मृत्यु, १९ जना घाइते
अमेरिकाको न्युयोर्क सहरमा तीनतले भवन भत्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। सहरका अधिकारीहरूका अनुसार बुधबार दिउँसो मध्य ब्रुकलिनको फ्ल्याटबुस क्षेत्रमा रहेको व्यावसायिक तथा आवासीय प्रयोजनको मिश्रित भवन भत्किएको हो। स्थानीय समयअनुसार दिउँसो करिब ४ बजे भएको उक्त घटनामा घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर र १२ जनाको अवस्था स्थिर रहेको छ।
घाइते १९ जनामध्ये कम्तीमा सात जना बालबालिका रहेको अधिकारीहरूले बताएका छन्। भग्नावशेषमा अझै कति मानिस पुरिएका छन् वा हराइरहेका छन् भन्नेबारे यकिन विवरण आउन बाँकी रहेको न्युयोर्क प्रहरी विभागका एक अधिकारीले जानकारी दिएका छन्।
घटनास्थलमा उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी तथा उद्धार कार्य जारी राखेका छन्। सार्वजनिक भएका दृश्यमा अग्नि नियन्त्रकहरूले भग्नावशेषबाट मानिसहरूलाई बाहिर निकालेर स्ट्रेचरमा राख्दै सुरक्षित स्थानमा पुर्याइरहेको देखिन्छ।
भवन भत्किएर नजिकै रहेको निर्माणस्थलमाथि खसेपछि दुवै क्षेत्रमा मानिसहरू पुरिएको आशंका गरिएको छ। उद्धार कार्य सुरु भएको चार घण्टा बितिसक्दा पनि भवनको थप भाग भत्किन सक्ने जोखिम रहेकाले उद्धारमा चुनौती थपिएको अधिकारीहरूले बताएका छन्।
न्युयोर्क सहरको अग्नि नियन्त्रण विभागका आयुक्तले भग्नावशेषमा भइरहेको खोज तथा उद्धार कार्यलाई ‘अत्यन्तै खतरनाक’ बताएका छन्। भवनको संरचना अस्थिर रहेकाले उद्धारकर्मीहरूले विशेष सतर्कताका साथ काम गरिरहेको जनाइएको छ। घटनाको कारण र भग्नावशेषमा अझै कति मानिस फसेका छन् भन्नेबारे थप अनुसन्धान तथा खोजी भइरहेको छ।