मोरङमा भीषण आगलागी : पाँच संरचना जलेर नष्ट
मोरङको सुनवर्षी नगरपालिका–६, झपडतलमा भएको आगलागीमा पाँच वटा संरचना जलेर नष्ट भएका छन्। आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्थानीय दिलबहादुर कार्कीको काठले बनेको दुई तले घर, दुई वटा गाईगोठ, भान्छाघर र भण्डारघर आगलागीमा जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
बुधबार साँझ ६ः४५ बजेदेखि सुरु भएको आगलागी दमकल, स्थानीयवासी तथा सुरक्षाकर्मीको सक्रियतामा मध्यरातमा नियन्त्रणमा लिइएको थियो। आगो नियन्त्रणका लागि रतुवामाई र रंगेली नगरपालिका तथा कानेपोखरी गाउँपालिकाबाट दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ। आगलागीका क्रममा गाईगोठबाट गाईगोरु निकाल्ने प्रयास गर्दा कार्कीकी नातिनी सुष्मा कार्कीको हातमा सामान्य चोट लागेको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा पटाका पड्काउने क्रममा आगो सल्किएको हुन सक्ने आशंका गरेको छ। यद्यपि आगलागीको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ।
आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिए पनि क्षतिको यकिन विवरण सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।