चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा, साइबर अपराधमा दुई जना पक्राउ
काठमाडौं । तिहार, दीपावली, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ ।
‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ अन्तर्गत बजार, धार्मिकस्थल, सार्वजनिक यातायात केन्द्र, सीमा नाका तथा बढी भीडभाड हुने क्षेत्रमा प्रहरी परिचालन र निगरानी बढाइएको हो ।
चोरी, लुटपाट, जुवातास, लागुऔषध तथा मादक पदार्थको दुरुपयोग, झैझगडा, कालोबजारी र आगलागीलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा पहिचान गर्दै नियमित गस्ती, आकस्मिक जाँच तथा सादा पोसाकमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, यात्रुको चापलाई ध्यानमा राख्दै देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी कम्तीमा एक हजार १६५ प्रहरी परिचालन गरिएको छ । अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा समेत सहायता कक्ष स्थापना गरिएको छ ।
यसैबीच, सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्नुका साथै अश्लील तस्बिर तथा भिडियो सार्वजनिक गर्ने धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलामका विकल्प राई र सिन्धुपाल्चोकका सुजन पाण्डे रहेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले उनीहरूलाई काठमाडौंको ठमेल र तारकेश्वरबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार दुवै जनामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ । अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ ।