लेक लाग्ने समस्याको रोकथाम र उपचारका लागि सरकारले ल्यायो नयाँ मापदण्ड
उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको रोकथाम, पहिचान र उपचारलाई व्यवस्थित बनाउन सरकारले नयाँ मापदण्ड स्वीकृत गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३’ स्वीकृत गरेको हो।
नयाँ मापदण्डले पर्यटक, पदयात्री, पर्वतारोही तथा स्थानीय बासिन्दामा देखिन सक्ने लेक लाग्ने समस्याको समयमै पहिचान र उपचार सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
मापदण्डअनुसार लेक लाग्न नदिन क्रमशः उचाइ बढाउने, शरीरलाई अनुकूलनका लागि पर्याप्त समय दिने र प्रशस्त झोल पदार्थ पिउने व्यवस्था गरिएको छ। लक्षण देखिए थप उचाइमा नजान तथा बिरामीलाई तत्काल कम उचाइमा झार्नुपर्ने प्रावधान पनि समेटिएको छ।
त्यस्तै, हिमाली क्षेत्रका स्वास्थ्य संस्थामा अक्सिजन, पल्स अक्सिमिटर, गामो ब्याग तथा आवश्यक औषधि र उपकरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ अनुसार जारी मापदण्डले सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारीसमेत निर्धारण गरेको छ।