भारतीय राजदूत दलेलाले राष्ट्रपति पौडेलसमक्ष पेस गरे ओहोदाको प्रमाणपत्र
काठमाडौं। नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राजदूत दलेलाले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। केही दिनअघि राजदूतका रूपमा काठमाडौं आएका दलेलाले शुक्रबार औपचारिक रूपमा आफ्नो जिम्मेवारी सुरु गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार सोही अवसरमा लाओसका लागि गैरआवासीय राजदूत भिथाया जायाभोङ र पानामाका लागि गैरआवासीय राजदूत अलोन्सो मिगुएलले पनि राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
नवनियुक्त तीनै जना राजदूतलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो। समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा तीनै जना राजदूतले छुट्टाछुट्टै विशेष समारोहमा ओहोदाको प्रमाणपत्र पेस गरेको जनाएको छ।