खैरो हेरोइन कारोबारमा पूर्वसशस्त्र प्रहरी जवानसहित तीन जना पक्राउ
डाँका चोरी मुद्दामा सात वर्ष कैद सजाय भुक्तान गरेर छुटेका पूर्वसशस्त्र प्रहरी जवानसहित तीन जना खैरो हेरोइनसहित पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले बिहीबार काठमाडौं र भक्तपुरबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका–५ का ३७ वर्षीय युवराज भण्डारी, सप्तरीको राजविराज नगरपालिका–३ का ३३ वर्षीय कौशलकुमार राय र धनुषाको नगराइन नगरपालिका–५ का गोपाल साह रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट १३२ ग्राम ११० मिलिग्राम खैरो हेरोइन, दुई लाख ५० हजार रुपैयाँ नगद र डिजिटल तराजु बरामद गरेको छ।
ब्यूरोका प्रहरी उपरीक्षक दुर्गा रेग्मीका अनुसार सुरुमा काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित शिव मन्दिर नजिकबाट युवराज भण्डारी पक्राउ परेका थिए। उनको डेरा कोठामा खानतलासी गर्दा ३५ ग्राम ४६० मिलिग्राम खैरो हेरोइन र दुई लाख ५० हजार रुपैयाँ नगद फेला परेको थियो।
भण्डारीको बयानका आधारमा प्रहरीले भक्तपुरबाट गोपाल साह र कौशलकुमार रायलाई पक्राउ गरेको थियो। उनीहरूको साथबाट थप ९६ ग्राम ६५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको एसपी रेग्मीले जानकारी दिए।
भण्डारी सशस्त्र प्रहरीका पूर्व जवान हुन्। उनी यसअघि २०७६ भदौ १९ गते डाँका चोरी मुद्दामा पक्राउ परेका थिए। उक्त मुद्दामा सात वर्ष कैद र ८० हजार रुपैयाँ जरिवाना भुक्तान गरी २०८३ भदौ २४ गते उनी कारागारबाट छुटेका थिए।
प्रहरीको अनुसन्धानअनुसार कारागारबाट छुटेपछि भण्डारी लागुऔषध कारोबारमा संलग्न भएको खुलेको छ। उनलाई लागुऔषध उपलब्ध गराउने व्यक्ति नख्खु कारागारमा कैद भुक्तानका क्रममा चिनजान भएका एक भारतीय नागरिक रहेको प्रहरीको भनाइ छ।
ती भारतीय नागरिक २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फरार भारतीय नागरिकले सिरहा, धनुषा र विराटनगरका व्यक्तिमार्फत काठमाडौंमा लागुऔषध आपूर्ति गर्ने र भण्डारीले काठमाडौंमा बसेर बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।