भारतीय राजदूत दलेला र प्रधानमन्त्री शाहबीच शिष्टाचार भेट
प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। साथै, रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे।
प्रधानमन्त्री शाहले आसन्न भारत भ्रमणको तयारीबारे पनि राजदूत दलेलासँग जानकारी लिएका थिए। त्यसक्रममा राजदूत दलेलाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता महत्त्वपूर्ण हुने बताए।
उनले भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायबीच गृहकार्य भइरहेको जानकारी दिए।
भेटमा नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो।