चार जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
भक्तपुर, नुवाकोट, कास्की र उदयपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। शुक्रबार र शनिबार भएका दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–१० सूर्यमोडस्थित सडकमा शुक्रबार दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ। बा.प्र.०१–००५ ख ९६९७ नम्बरको बसले बा.प्र.०२–००१ ब २३६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार १४ वर्षीया भूमिका राई गम्भीर घाइते भएकी थिइन्। खोटाङ घर भई काठमाडौंको माकलबारी बस्ने राईको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।
त्यस्तै, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ नौबिसेस्थित सडकमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुप्चेश्वरबाट सातबिसेतर्फ जाँदै गरेको बा.५२ प १३०४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका पञ्चकन्या गाउँपालिका–४ का ५५ वर्षीय नारायण कार्कीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी, कास्कीको पोखरा महानगरपालिका–५ जिरोस्थित सडकमा शुक्रबार दिउँसो स्कुटर रोकिराखेको बोलेरोमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। लु.३ च ५२७४ नम्बरको बोलेरोमा ग.२३ प १७१६ नम्बरको स्कुटर ठोक्किँदा स्कुटरमा सवार म्याग्दीको मङ्गला गाउँपालिका–दारुङका २१ वर्षीय विवेक दर्जी र रघुगङ्गा गाउँपालिकाका २६ वर्षीय महन परियारको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका विवेकको गण्डकी मेडिकल कलेज र महनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिएको छ।
उता, उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैरा झोरास्थित सडकमा शनिबार दिउँसो मोटरसाइकल र ट्र्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। प्र.१–०२–०६० प ८७११ नम्बरको मोटरसाइकल र ना.७ त ५३२५ नम्बरको ट्र्याक्टर ठोक्किँदा गम्भीर घाइते भएका अन्दाजी २९ वर्षीय मोटरसाइकल चालकको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा मृत्यु भएको हो।