भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी, लाखौँको क्षति
भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ।
कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा बिहान आगलागी भएको हो। भवनको माथिल्लो तलाबाट अचानक आगो र कालो धुवाँको मुस्लो निस्किएपछि आसपासका स्थानीय बासिन्दा त्रसित भएका थिए।
आगलागीको कारण खुल्न सकेको छैन। प्रारम्भिक अनुमानअनुसार विद्युत् लाइन सर्ट भएर आगो लागेको हुन सक्ने आशङ्का गरिएको छ।
घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा तथा दमकलको टोली घटनास्थल पुगेको थियो। उनीहरूको संयुक्त प्रयासमा केही समयमै आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट रेस्टुरेन्टका भौतिक संरचना तथा विभिन्न सामग्री जलेर नष्ट भएका छन्। समयमै आगो नियन्त्रणमा आएकाले मानवीय क्षति भने हुन नपाएको सुरक्षा निकायले जनाएको छ। प्रहरीका अनुसार घटनाबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।