मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले राजीनामाको घोषणा गरेका हुन्।
प्रदेशसभाको अंकगणितीय जोडघटाउमा अल्झिएर सरकार सञ्चालन गर्नुभन्दा प्रदेशमा स्थिर सरकार निर्माण र विद्यमान राजनीतिक परिस्थितिको निकास खोज्न आफूले राजीनामा दिने निर्णय गरेको उनले बताए।
प्रदेशमा राजनीतिक स्थिरता कायम गर्न तथा नयाँ सरकार गठनको प्रक्रिया सहज बनाउन मार्गप्रशस्त गर्ने उद्देश्यले राजीनामा दिएको उनको भनाइ छ।
मुख्यमन्त्री यादवको राजीनामासँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ। यसअघि नै नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच सत्ता समीकरणको सहमति भइसकेको छ।