अछाममा भीरबाट लडेर एक जनाको मृत्यु, एक जना घाइते
अछामको ढकारी गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। मृत्यु हुनेमा ढकारी गाउँपालिका–१ बासल्लाका ३२ वर्षीय बिर्खे बूढा रहेका छन्। सोही ठाउँका ३१ वर्षीय गणेश बुढा घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनीहरू बिहीबार राति स्थानीय सालटोक्टा बजारबाट घर फर्किने क्रममा बासल्ला नजिकैको भीरबाट खसेका थिए। दुवै जना करिब १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पविन्द्रबहादुर बम्मले जानकारी दिए।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी ढकारीबाट प्रहरी सहायक निरीक्षक हरिदत्त भट्टको कमान्डमा तीन जनाको टोली उद्धारका लागि खटिएको थियो।
उद्धारपछि दुवै जनालाई स्थानीय ढकारी स्वास्थ्य चौकीमा सामान्य उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन पठाइएको थियो। उपचारका क्रममा बिर्खेको मृत्यु भएको प्रहरीले जनाएको छ।
भीरबाट लड्दा बिर्खेको अनुहार, छाती र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। घाइते गणेशको अवस्था सामान्य रहेकाले उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ।
मृतक बिर्खेको शव जिल्ला अस्पताल मङ्गलसेनमा राखिएको प्रहरीले जनाएको छ।