मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिने तयारी
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिने तयारी गरेका छन्।
प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न आवश्यक समर्थन जुटाउन नसकेपछि मुख्यमन्त्री यादव राजीनामा दिने निष्कर्षमा पुगेका हुन्। उनले प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेको प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिएका छन्।
मुख्यमन्त्री यादवलाई सरकारमा निरन्तरता दिन १०७ सदस्यीय प्रदेशसभामा कम्तीमा ५४ सांसदको समर्थन आवश्यक छ। तर, उनको दल नेपाली कांग्रेससँग २२ जना मात्रै सांसद छन्।
सरकार जोगाउन एमाले वा जसपा नेपालमध्ये कम्तीमा एक दलसहित अन्य दलको समर्थन आवश्यक भए पनि दुवै दलले समर्थन नगर्ने संकेत दिएका छन्।
यसअघि कांग्रेस सभापति गगन थापाले मधेश प्रदेश सरकार जोगाउने प्रयासस्वरूप एमाले र जसपा नेपालका शीर्ष नेताहरूसँग छलफल गरेका थिए। तर, उक्त छलफलबाट कुनै ठोस सहमति जुट्न नसकेको बताइएको छ।
यसअघि जनमत पार्टीका मुख्यमन्त्री सतिश सिंहले पनि विश्वासको मत जुटाउन नसकेपछि राजीनामा दिएका थिए।
प्रमुख दलहरूको समर्थन नपाउने अवस्था बनेपछि मुख्यमन्त्री यादवले पनि पदबाट राजीनामा दिने तयारी गरेका हुन्।