भोटेकोशी–त्रिशूली बाढीको कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढी तथा विपद्को कारणबारे गम्भीर वैज्ञानिक अनुसन्धान गर्न सरकारसँग माग गरेकी छन्।
मंगलबार सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै लामाले बाढीपछि देखिएको असामान्य रासायनिक गन्ध र पाउडरजस्तो पदार्थबारे वैज्ञानिक परीक्षण गर्नुपर्ने बताइन्।
उनले विपद्बाट प्रभावित समुदायलाई सुरक्षित स्थानमा पुनस्र्थापना गर्न, फुर्के खोलामा तत्काल बेलीब्रिज निर्माण गर्न तथा तिप्लिङ–साँकोस–सोमदाङ सडकलाई वैकल्पिक मार्गका रूपमा दिगो स्तरोन्नति गर्न माग गरिन्।
लामाले अभिभावक गुमाएका बालबालिका तथा सहारा गुमाएका वृद्धवृद्धाका लागि दीर्घकालीन संरक्षणको व्यवस्था गर्न र बौद्ध समुदायका मृतक परिवारलाई परम्पराअनुसार काजकिरिया गर्न स्थानीय तहसँग समन्वय गर्न पनि आग्रह गरिन्।
पूर्वाधार निर्माणमा वैज्ञानिक अध्ययन र जोखिम मूल्याङ्कनलाई अनिवार्य आधार बनाउनुपर्ने बताउँदै उनले राहत वितरणमा ढिलाइ नगरी वास्तविक लाभग्राहीलाई शीघ्र राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइन्।