करदाता प्रोत्साहन कार्यक्रम : नुवाकोटकी सन्तमायालाई १० लाखको बम्पर उपहार
नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा प्राप्त बिलका आधारमा १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन् ।
आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत तामाङ बम्पर उपहारका लागि छनोट भएकी हुन् । उनले दसैँका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेकी थिइन् ।
उक्त खरिदको बिल नम्बरबाट प्राप्त कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको विभागले जनाएको छ ।
काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीमार्फत बम्पर तथा दैनिक उपहारका विजेता घोषणा गरेका थिए । विजेता घोषणा भएपछि कलाकारद्वयले तामाङलाई फोन गरेर १० लाख रुपैयाँको बम्पर उपहार जितेको जानकारी दिएका थिए ।
विभागका अनुसार बम्पर उपहारबाहेक असोज १६ देखि ३१ गतेसम्मका लागि १६ जना दैनिक विजेतासमेत छनोट भएका छन् । प्रत्येक दिन एक जनाका दरले छनोट भएका उनीहरूले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
दैनिक उपहारको घोषित राशि एक लाख ३३ हजार ३३४ रुपैयाँ भए पनि कर कट्टीपछि विजेताको खातामा एक लाख रुपैयाँ जम्मा गरिने विभागले जनाएको छ । यस कार्यक्रममार्फत उपभोक्तालाई सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गर्न प्रोत्साहन गरिएको छ ।