३० लाख घुस डिलको आरोपमा पूर्वमन्त्री पाण्डे र स्वकीय सचिवमाथि कारबाही सिफारिस
पोखरास्थित पद्म नर्सिङ होमलाई १०० शय्याको सञ्चालन अनुमति दिने क्रममा ३० लाख रुपैयाँ घुसको डिल गरेको आरोप लागेका गण्डकी प्रदेश सरकारका पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र उनका स्वकीय सचिव यादव पौडेलमाथि कारबाही गर्न सिफारिस गरिएको छ ।
नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलद्वारा गठित तीन सदस्यीय छानबिन समितिले अध्ययन प्रतिवेदन तयार पार्दै उनीहरूमाथि कारबाहीको सिफारिस गरेको हो । समितिले प्रतिवेदन संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारी र एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्मालाई बुझाएको छ ।
छानबिन समितिकी संयोजक तथा एमालेकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीका अनुसार पूर्वमन्त्री पाण्डे र उनका स्वकीय सचिव पौडेलले पदीय मर्यादाविपरीत काम गरेको समितिको निष्कर्ष छ ।
उनले दोषको मात्रा थप छानबिनबाट स्पष्ट हुने भए पनि उनीहरूबाट पदीय हिसाबले भएका कार्य गलत देखिएकाले कारबाही सिफारिस गरिएको बताइन् । समितिले पार्टी र संसदीय दलको विधानअनुसार काम भए–नभएको अध्ययन गर्दा विधानअनुरूप काम नभएको पाइएको उनको भनाइ छ ।
समितिको प्रतिवेदनमा पूर्वमन्त्री पाण्डे र उनका स्वकीय सचिव पौडेल एमाले पार्टी विधानको धारा ८४ को ‘छ’ र ‘ञ’ विपरीतका क्रियाकलापमा संलग्न रहेको उल्लेख गरिएको छ । उनीहरूले प्रदेशसभा संसदीय दलको विधान, २०८० को धारा २७ तथा मन्त्री बन्नुअघि हस्ताक्षर गरेको आचारसंहिता पनि उल्लंघन गरेको प्रतिवेदनमा उल्लेख छ ।
समितिले उनीहरूमाथि कडा कारबाही गर्न सिफारिस गरेको छ । अब प्रतिवेदनका आधारमा एमालेको अनुशासन आयोगले आवश्यक निर्णय लिने संयोजक त्रिपाठीले बताइन् ।
उनका अनुसार कस्तो कारबाही गर्ने भन्ने विषय पार्टी विधानमा रहेको व्यवस्थाअनुसार तय हुनेछ । सार्वजनिक भएका विषयलाई कारबाहीको दायरामा ल्याउनुपर्ने समितिको स्पष्ट निष्कर्ष रहेको उनले बताइन् ।
प्रतिवेदन यसअघि नै तयार भए पनि संसदीय दलका नेताले समय उपलब्ध नगराएका कारण बुझाउन ढिलाइ भएको बताइएको छ । अब अनुशासन आयोगको निर्णयपछि पूर्वमन्त्री पाण्डे र उनका स्वकीय सचिव पौडेलमाथि हुने कारबाहीबारे टुंगो लाग्नेछ ।