स्थानीयवासीको श्रमदानबाट लाङटाङ पदमार्ग मर्मत, दुई दिनमा पुग्न सकिने
बाढी र पहिरोले क्षति पुर्याएको रसुवाको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत गरिएको छ।
गोसाइँकुण्ड गाउँपालिका–४ का स्थानीयवासीले पहिरोले क्षति पुर्याएका विभिन्न स्थानमा श्रमदान गरी पदमार्ग सुधार गरेका हुन्। वडाध्यक्ष डिन्ढुप तामाङका अनुसार पदमार्ग मर्मतसँगै पर्यटक र स्थानीयवासीका लागि आवतजावत सहज बनेको छ।
गत भदौ १० गते आएको बाढीले लाङटाङ प्रवेशद्वारका रूपमा रहेको स्याफ्रु बजारमा ठूलो क्षति पुर्याउनुका साथै सडक पुलसमेत बगाएको थियो। त्यसपछि वैकल्पिक पदमार्ग सञ्चालनमा ल्याइएको हो।
वैकल्पिक मार्गअनुसार धुन्चेबाट ठूलो भार्खु, सानो भार्खु, ब्राबल, ठूलो स्याफ्रु, पहिरो, बम्बो, रिमिचे र लामा होटल हुँदै दुई दिनको पैदल यात्रामा लाङटाङ पुग्न सकिने गाउँपालिकाले जनाएको छ।
पदमार्ग मर्मत भई सञ्चालनमा आएसँगै लाङटाङ क्षेत्रको पर्यटन गतिविधिमा पुनः उत्साह थपिने अपेक्षा गरिएको छ।